२४ बैशाख २०८१, सोमबार

सरकारलाई सर्वोच्च अदालतको आदेश : पीसीआर परीक्षणको दायरा बढाउ


सर्वोच्च अदालत

१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल सरकारलाई कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ । आम नागरिकलाई कोरोना महामारीबाट जोगाउन तत्काल पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिएको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कोभिड-१९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ । भर्खरै चीन सरकारको सहयोगमा ठुलो संख्यामा पीसीआर किटहरु नेपालमा आइसकेका छन् ।

यसअघि वैशाख २६ राष्ट्रिय सभाका सांसदहरुले नेपालमा पीसीआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उचित व्यवस्थापनसहित उद्धार गर्न सरकार समक्ष माग गरेका थिए । राष्ट्रिय सभाको अधिवेशनमा बोल्ने सांसदहरुले पीसीआर परीक्षण न्यून रहेको र विदेशमा नेपालीहरु समस्यामा परेकाले उद्धारका लागि सरकारसँग माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !