२० बैशाख २०८१, बिहिबार

कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना


कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको बिओपी स्थापना

३१ वैशाख, दार्चुला । दार्चुला जिल्लाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । कालापानी र लिपुलेक आसापासको भूमि मिचेर भारतले सडक बनाएको भन्दै सदन र सडक तातिरहेका बेला कालापानी नजिकै सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक.डा. इन्द्रजित राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बुधबार कालापानी नजिकै दार्चुलाको छाङरुमा बिओपीको उद्घाटन गरेका हुन्। त्यहाँ सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ सशस्त्र प्रहरी खटाइएको छ ।

आज बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार राई, एआईजी थापासहितका सुरक्षाअधिकारी नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट दार्चुला पुगेका थिए। नेपाली सेनाको उक्त हेलिकप्टरले दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिओपीका लाग चाहिने सामान छाङरु पुर्याएको हो ।

छाङरुबाट भारतले अतिक्रमण गरेको कालापानीको दूरी १२ किलोमिटर छ भने लिपुलेकको दूरी १७ किलोमिटर छ । अहिलेसम्म छाङरुभन्दा पनि झण्डै ५ किलोमिटर उत्तरमा रहेको गागा क्षेत्रमा वर्षमा ६ महिनाका लागि मात्रै नेपाल प्रहरी बस्दै आएको छ।

छाङरुमा रहेको बिओपी अहिले भाडाको घरमा स्थापना भएको हो । सरकारले छाङरुमा सशस्त्रका पूर्वाधारका लागि ११ करोड रकम विनियोजन गरेको हो ।

भारतले, नेपालको कालापानी र लिपुलेक क्षेत्र मिचेर चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि अहिले देशभरी आन्दोलन भइरहेको छ भने सत्ता पक्ष र प्रतिपक्षले समेत मिचिएको भुभाग फिर्ता गर्नेबारे भारतसँग कूटनीतिक पहल गर्न माग गरिरहेका छन्।

भारतले, आफ्नो धारचुला तहसिल अन्तर्गत पर्ने तावाघाटबाट ९५ किलोमिटर उत्तरतिर लिपुलेकसम्मको सडक उद्घाटन गरेको समाचार हालै सार्वजनिक भएको थियो। भिडियो कन्फरेन्सबाट भारतका रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार उक्त सडकको दिल्लीबाटै उद्घाटन गरेका थिए।

भारतले बनाएको सडकमा अहिले १९ किलोमिटर नेपालको भुमीमा पर्ने बताइएको छ। नेपालसँग कुनै सहमति नगरी महाकाली वारी भारतले तिब्र गतिमा सडक बनाएर उद्घाटन गरेको हो। भारतले बनाएको उक्त सडक चीनको सीमाना छुन अब तीन किलोमिटर मात्रै बाँकी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !