२३ बैशाख २०८१, आइतबार

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डद्वारा भारतलाई लिपुलेकमा सडक निर्माण तुरुन्त रोक्न आग्रह


२७ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) ले नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको प्रति आपत्ति जनाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गर्दै भारतलाई लिपुलेकमा सडक निर्माण तुरुन्त रोक्न आग्रह गरेका छन् ।

जारी गरिएको उक्त विज्ञप्तिमा भारतको यो कार्यले नेपालको सार्वभौमिकतालाई कमजोर आँकिएको ठहर नेकपाले गरेको उल्लेख गरिएको छ । विश्वभर सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर भएको बताएका छन् ।

भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण कार्य दुई देशका सरकारले उच्च तहमा गरेको उच्चस्तरीय संयन्त्रमार्फत सीमा विवाद समाधान गर्ने सहमति विपरित रहेको नेकपाले बताएको छ । पार्टीले तत्काल सो क्षेत्रमा सडक निर्माण कार्य रोक्न र विषयलाई थप जटिल बनाउने गतिविधि रोक्न भारतलाई आग्रह गरेको छ ।

सन् १८१६ को सुगौली सन्धी अनुसार काली (महाकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेको सरकारले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । ‘यो तथ्यलाई नेपाल सरकारले विगतमा निरन्तर दोहोर्याउँदै आएको छ र पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी भएको सन्दर्भमा भारत सरकारलाई पठाइएको कुटनीतिक नोट मार्फत सन् २०१९ को नोभेम्बर २० मा पनि पुनः अवगत गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

दुई देशबीचको लामो मैत्रिपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै सरकारले कुटनीतिक पहल र वार्ताको माध्यमबाट सीमा विवाद समाधानका लागि गरेको पहलको नेकपाले समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपाले सीमा विवाद समाधान गर्नका लागि नेपाल र भारत सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह पनि गरेको छ ।

 नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

भारतीय विदेश मन्त्रालयद्वारा आफ्नै भूमिमा सडक बनाइएको धारणा

भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !