२४ बैशाख २०८१, सोमबार

बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाल बीच भेटवार्ता


ओली, प्रचण्ड र नेपाल

२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान प्रचण्ड र नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटका हुन् ।

३ जना नेताहरुबीच पर्सी बैशाख २५ बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डाका बारेमा छलफल भएको बुझिएको छ । गत शनिबार बसेको सचिवालय बैठकमा विगतका कमी-कम्जोरीबारे प्रधानमन्त्री ओली सहितका नेताहरुले आत्मालोचना गरेपनि सचिवालयबाट पद बाँडफाँड गर्ने निर्णयप्रति नेताहरुमा असन्तुष्टि कायमै छ ।

यता अध्यादेश फिर्ता भई सकेपनि अनुपयुक्त समयमा अध्यादेश किन ल्याइयो भनेर त्यसको जवाफ प्रधानमन्त्रीबाट खोज्ने तयारी भइरहेको छ । स्थायी समिति बैठकअघि भोलि सचिवालय बैठक बस्दैछ ।

उक्त बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेका प्रस्तावमा छलफल गरेर स्थायी समितिमा पेश गर्ने तयारी छ । त्यसका लागि प्रचण्डले नेता माधवकुमार नेपाल र ओलीलाई छुट्टाछुटटै भेटेर छलफल गरेका थिए । जसका निम्ति आज तीनै जना नेताबीच छलफल भएको स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !