१४ बैशाख २०८१, शुक्रबार

देशले पाउने भयो अव एक राजनेता


द लिडर

मंसीर २६, काठमाडौं । देशले पाउने भयो अव एक राजनेता ! चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ नेपाल भित्र्याएको एसआरबीएन मिडियाले नयाँ रियालिटी शो ‘द लिडर’ प्रसारणमा ल्याउने भएको छ । बिहीवार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै यसबारेमा जानकारी दिइयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र, पत्रकार रवि लामिछाने लगायत उपस्थित थिए । यो शो संसारमै फरक खालको भएको आयोजकको दाबी छ । शो मा एक राजनेताको खोजी गरिनेछ, गाउँ गाउँ गएर कुशल नेताको खोजी गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो बिल्कुलै फरक खालको कार्यक्रम भएको र यसले समाजको रुपान्तरणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । यस्तै पूर्वप्रधानन्याधीश सुशीला कार्कीले नेपालको राजनीतिक अवस्था औँल्याउँदै राष्ट्रलाई एक राजनेताको आवश्यकता भएको बताइन् ।

कार्यक्रममा बाेल्दै रविन्द्र मिश्रले नेता भनेको जनताको सेवक भएको र यस्तै खाले एक व्यक्ति रियालिटी शोले खोज्नमा सघाउ पुर्‍याउने बताए । टेलिभिजनबाट समेत प्रसारण हुने यो रियालिटी शो मा डा. बाबुराम भट्टराई, सुशीला कार्की र रविन्द्र मिश्र निर्णायकको भूमिकामा रहनेछन् । आयोजकले दर्शकको प्रतिक्रियाका आधारमा अन्य दुई जना निर्णायक रहने पनि जनाएको छ ।

रियालिटी शोमा देशभरबाट १ सय जना प्रतियोगी छानिनेछ । तीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक जनालाई ‘द लिडर’ चयन गरिनेछ । विजेताले काठमाडौंमा एक अपार्टमेन्ट, गाडी र नगद रुपैयाँ २० लाख पुरस्कार हात पार्नेछन् । अहिलेसम्म कै फरक शो भनिएको कार्यक्रमको होस्ट पत्रकार रवि लामिछानेले गर्नेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !