२५ बैशाख २०८१, मंगलबार

महिला अधिकारका लागि सामाजिक रुपान्तरण आवश्यक : मन्त्री थापा


Thammaya Thapa

२४ फागुन, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिलाका सबै अधिकार व्यवहारमा कार्यान्वयन गर्न सामाजिक रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले १०९ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अझै पनि महिलामाथि अमानवीय व्यवहार हुने गरेको र सामाजिक कूरितीको शिकार हुनुपरेको बताउँदै यसको अन्त्यका लागि सामाजिक रुपान्तरण आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले मुलुकमा प्रजातान्त्रिक आन्दोलनसँग महिलाका अधिकार स्थापित हुदै गएको र संविधानसभाबाट जारी नेपालको संविधानले महिलाका धेरै अधिकार उल्लेख गरेको बताउँदै ती अधिकार कार्यान्वयनका लागि सरकार कानून निर्माणमा जुटेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री थापाले सरकारले सङ्कल्प गरेको सुखी नेपाली र समृद्ध नेपालको अभियान सफल बनाउन आधा प्रतिशत भन्दा बढी जनसङ्ख्या रहेको महिलाको समृद्धि आवश्यक रहेकोे बताउनुभयो ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले स्थानीय समुदाय अधिकार सम्पन्न भएमात्रै स्थानीय र प्रदेश सरकार सबल ह्ुने बताउँदै प्राकृतिक स्रोतमाथि स्थानीय समुदायका अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले सामुदायिक वन उपभोक्ता महासङ्घले महिलाका अधिकार उठाउँदै आएको बताउँदै त्यस्ता मुद्दालाई कानूनमा समेट्न नीति निर्माण प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासङ्घका अध्यक्ष भारती पाठकको सभातित्वमा कार्यक्रम सम्पन्न भयो यसअघि सामुदायिक वनकर्मीले विभिन्न नारा लेखिएका प्लेकार्डसहितको ¥याली निकालेका थिए । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !