१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित


chinese president

अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ। त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिन पहिले नेपालका उच्च नेतृत्वलाई अवगत गराएको खबर आजको अन्नपूर्णमा छापिएको छ।

चीनले नेपालको तर्फबाट भ्रमण सम्बन्धमा आवश्यक तयारी नगरिएको र चीनसँग नजिकिँदै गएको नेपालसम्बन्धप्रति नयाँ सरकारले प्रतिवद्धता नदेखाएको उसको बुझाइसमेत अवगत गराएको थियो। अब चिनियाँ राष्ट्रपति सी २०१६ भित्र नेपाल आउने सम्भावना टरेको छ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको अनौपचारिक जानकारी आएको छ,’ एक उच्च सरकारी अधिकारीले भने। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल निकट स्रोतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा अनौपचारिक जानकारी आएको पुष्टी गरेको छ।

यद्यपि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको सम्बन्धमा कुनै जानकारी नआएको अन्नपूर्णलाई प्रतिक्रिया दिए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण असोजमा हुन्छ भन्नेमा सरकार विश्वस्त छ’, उनले भने ।

बेइजिङ्ले राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमण निश्चित गर्ने÷नगर्ने विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको थियो ।

तीन कारणः
–पर्याप्त तयारी अभाव
–वन बेल्ट वन रोडमा नेपालको प्रतिबद्धता कमजोर
–केपी ओलीसँग भएका सम्झौता कार्यान्वयनमा गृहकार्य अभाव

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि तीनवटा सम्भावित मितिहरूमा कूटनीतिक र राजनीतिक तहमा कुराकानी चलिरहेको थियो ।

असोज २९ र ३० (अक्टोबर १५ र १६) मा भारतको गोवामा हुने ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलनमा जानु एक वा दुई दिनअघि नेपाल भ्रमण गर्ने वा शिखर सम्मेलन सकेर फर्किने क्रममा नेपाल भ्रमण गर्ने सम्भावना थियो ।

छलफलका क्रममा चिनियाँ पक्षले असोज २२, २३ या २४ गते (अक्टोबर ८, ९ या १०) मध्ये कुनै एक दिन राष्ट्रपति नेपाल भ्रमणमा आउन सक्ने अर्को सम्भावित मिति प्रस्ताव गरेको थियो ।

डिसेम्बर दोस्रो साता राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने गरी चिनियाँ पक्षले आन्तरिक गृहकार्य समेत गरेको भए पनि हालका लागि तयारी रोकिएको बेइजिङस्थित स्रोतले बतायो । ‘तर यी तीनवटै प्रस्तावित मितिमा राष्ट्रपतिको भ्रमण हुनेछैन’, स्रोतले भन्यो ।

राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीअन्तर्गत एक महिना पहिले नेपाल आएको चीनको स्टेट काउन्सिल मातहतको प्रभावशाली ‘थिंक ट्यांक’ चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का अध्यक्ष जी चिए नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति सीको भ्रमण असोजमा हुने प्रधानमन्त्री दाहाललगायत उच्च राजनीतिक तहमा जानकारी गराएको थियो ।

सिआइसिआइआरका अध्यक्ष जीले राष्ट्रपति सीको भ्रमण सफलताका लागि नेपालका तर्फबाट पर्याप्त गृहकार्य गर्नुपर्ने तथा चिनियाँ सम्बन्धित मन्त्रालयसँग सघन सम्पर्कमा रहनुपर्ने सञ्चारकर्मीसँग बताएका थिए ।

चीन अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष जीले राष्ट्रपति असोजमा नेपाल आउन चाहेको बताएका थिए ।

प्रधानमन्त्री दाहालको विशेषदूतका रूपमा बेइजिङ गएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा भएका भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र विदेशमन्त्री वाङ यीले सन् २०१६ भित्र उच्चस्तरीय नेपाल भ्रमण हुनसक्ने बताए पनि राष्ट्रपति सीको नै भ्रमण हुनसक्ने स्पष्ट बताएका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !