१४ बैशाख २०८१, शुक्रबार

जनताको नजरमा ज्ञानेन्द्र एक ब्यापारी हुन् : संयोजक रुद्रजङ् पुलामी


rudra

२६, माघ, काठमाडौं । राष्ट्रिय समाजवादी पार्टीका संयोजक नेता रुद्रजङ् पुलामीले नेपाली समाजलाई अस्थिरता, असुरक्षा, अवसरबाट बञ्चित गरी विकास हुनबाट रोक लगाई कङ्गाल र माथि उठ्न नदिनुमा प्रमुखतः सदियौ वर्षदेखिको सामन्तवादी राजतन्त्रात्मक राज्यसत्ता कारकतत्व बन्दै आएको बताउनु भएको छ । संयोजक  पुलामीले यस्तो हुनुमा एकात्मक एवम् साम्प्रदायिक निरङ्कुश चरित्रबाट प्रभावित भएर निर्देशित भएको कारण रहेको बताउनु भयो ।

पत्रकार राम मगरसँग कुरा गर्दै संयोजक  पुलामीले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानको चाहनालाई आत्मसात गर्न नसकेको र राजतन्त्रात्मक राज्यसत्ताले निर्मम ढङ्गबाट जनतामाथि दमनकारी भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । “सिमित आसेपासेको आडमा राज्य सञ्चालन गर्ने, जनतालाई दासत्वभित्र कैद गरिराख्ने जस्ता कार्य भए ।” उहाँले थप्नुभयो ।

संयोजक  पुलामीले भन्नुभयो, “जनतामा बोल्न पाउनुपर्ने अधिकारको प्रत्याभूत नगरी जनताको मुखमा पट्टी बाध्ने जस्ता घृणित गतिविधिलाई प्राथमिकतामा राखेर जनताको अधिकारको हनन गर्दै आएको थियो । आफ्ना अधिकार र स्वतन्त्रताका निम्ती आन्दोलित हुने क्रममा हजारौं जनताले आफ्नो ज्यान गुमाएका थिए । निरङ्कुश सत्ताले निर्मम दमन गर्दै आएको छ । सामन्तवादी व्यवस्थाकै कारण अधिकाँश जनता सधै गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार जस्ता न्यूनतम आधारभूत आवश्यकताबाट बन्चित भैरहनु परेको थियो ।”

“यहाँ बडो अचम्मको विषय के हो भने आज सत्तासीन नेपाल कम्युनिष्ट पार्टी तथा प्रतीपक्षी दल नेपाली कांग्रेस ज्ञानेन्द्रको राजनितिक चलखेलप्रती मुकदर्शक बनिरहेका छन् । हरेक कोणबाट कमजोर साबित हुँदै गएको छ ।” उहाँले भन्नुभयो । “सत्तासीन नेकपा ओली सरकार आधुनिक युगको शासन व्यवस्था कायम गर्नुपर्ने ठाँउमा उखान, टुक्का र सपनाको महलमा जनतालाई अल्मल्याइ रहेको पाइन्छ । वर्तमान सरकारको यस किसिमको प्रवृतिले देशलाई समृद्ध तुल्याउन सक्दैन ।” उहाँले भन्नुभयो ।

संयोजक  पुलामीले थप्नुभयो, “जनताको नजरमा ज्ञानेन्द्र एक ब्यापारी हुन् । जसले एकात्मक शक्तिको प्रदर्शन गरेर सोझा साझा जनताको अधिकारमाथि प्रत्यक्ष रुपमा असर पार्दै आइरहेको थियो । अपराधीलाई जेल हाल्न नसक्नु भनेको सरकारको कमजोरीको रुपमा लिन सकिन्छ । जनताले यसलाई सरकारको कमजोरी मानेका छन् । ज्ञानेन्द्रलाई चलखेल गर्नबाट रोक्न नसक्नु सत्तासीन नेकपा र नेपाली कांग्रेस नेपाली राजनीतिक रङ्गमन्चबाट अस्ताउदै गएको सङ्केत देखिन्छ । जनताबाट प्रतिनिधित्व प्राप्त गरेका, दुई तिहाईको वामपन्थी सरकारले जनभावना कदर गर्न सकेको छैन । शान्ति, सुरक्षा, कायम गर्न सकिरहेको छैन, भ्रष्टाचारले विकराल रुप लिदै गएको छ । अन्यायमा परेका जनताले न्याय नपाउनु , जनतामाथि करको भार थोपारिनु , भ्रष्टाचार बढ्दै जानु र त्यसप्रति रोक लगाउन नसक्नु जस्ता  प्रवृतिले सरकार कमजोर भएको महशुस गर्न सकिन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !