२४ बैशाख २०८१, सोमबार

स्वरोजगार बनाउनुपर्नेमा जोड


dormani poudel

७ पुस, हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले उत्पादन र बजारीकरणमा जोड दिएर व्यक्तिलाई परजीवी बन्नबाट जोगाउन सकेमात्र देश समृद्ध बन्नसक्ने धारणा व्यक्त गर्नुभएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आज यहाँ आयोजित प्रदेश र स्थानीय तहसँग अन्तक्र्रिया कायक्रममा उहाँले उक्त धारणा व्यक्त गर्नु भएको हो । उहाँले कार्यक्रम लागू भएपछि थुप्रै चुनौती आउन सक्नेतर्फ सचेत रहँदै रोजगारभन्दा पनि स्वरोजगार बनाउनेतर्फ ध्यान दिएर अगाडि बढ्नसके बेरोजगारी समस्या कम गर्न सकिने बताउनुभयो ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्रदेश ३ का सबै ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक बनाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुआत गरिने बताउनुभयो । प्रस्तुतिसहित आफ्नो धारणा राख्दै दाहालले मुलुकभित्रै थप रोजगारीको सिर्जना गरेर नेपालीलाई वैदेशिक रोजगारमा जान नपर्ने अवस्था बनाउँदै लगिने जानकारी गराउनुभयो ।

प्रदेश नं ३ का स्थानीय तहका प्रमुख, उपप्रमुख एवं मन्त्रालयका प्रतिनिधि उपस्थित कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलगायतले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो भएको र कार्यान्वयनको शुभकामना व्यक्त गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !