२५ बैशाख २०८१, मंगलबार

नाै दिनपछि नेविसंघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरू


nebisagh

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ। महाधिवेशन उद्घाटन भएको नौ दिनपछि प्रतिनिधि विवाद सुल्झिएपछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको हो।

११औं महाधिवेशन उद्घाटन भएको १० दिनपछि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको संघको निर्वाचन समितिले जनाएको छ। समितिले बुधबार विहान ७ बजेदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भएपनि केही ढिलो गरी मतदान सुरु भएको हो।

अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमितिका लागि जारी निर्वाचनमा झन्डै सात सय प्रतिस्पर्धामा छन्। अध्यक्षमा सात जनाले उम्मेदवारी दिए पनि सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल तथा नेता रामचन्द्र पौडेल निकट प्यानलबीच कडा प्रतिस्पर्धा हुनेछ ।

झन्डै ३ हजार ८ सय महाधिवेशन प्रतिनिधि सहभागी मतदानमा सभापति देउवा र सिटौलाको संयुक्त प्यानलको नेतृत्व नैनसिंह महरले गरेका छन् भने पौडेल पक्षको मनोजमणि आचार्य। आफूले जित्ने दाबी गर्दै आएका महर र आचार्य पक्षले पदाधिकारीसहित सदस्यसम्म प्यानल उम्मेदवारी दिएका छन्।

त्यस्तै, अध्यक्षमा शुभराम बस्नेत, लक्ष्मण आचार्य, आनन्दराज त्रिपाठी, नगेनसिंह ठकुरी, बचन कार्कीले पनि उम्मेदवारी दिएका छन् भने पदमराज पन्तले र्फिता लिगेका छन् ।

महर नेतृत्वको प्यानलबाट महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा तथा आचार्य प्यानलबाट दीपक भट्टराई र हिमालदत्त श्रेष्ठले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा अन्य दुई जनाको उम्मेदवारी छ। निर्वाचन समितिले विद्युतीय र मतपत्र गरी दुई विधिबाट निर्वाचन गराएको छ। ४० विद्युतीय मेसिन प्रयोग र ११ मतपत्र प्रयोग गरी निर्वाचन भइरहेको कांग्रेस सचिव प्रदीप पराजुलीले जानकारी दिए।

‘विद्युतीय मतदान व्यवस्था पार्टी कार्यालयको हल (माथि) मा गरिएको छ,’ उनले भने, ‘ब्यालेटको प्रयोग तल हुन्छ।’ संघको संशोधित विधानअनुसार प्रदेश, समावेशीसहित १३ उपाध्यक्ष, एक मनोनितसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेशीतर्फ चार, कर्णालीसहित पिछडिएका नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्री व्यवस्था छ ।

संघको २०६४ जेठपछि महाधिवेशन भएको छैन। तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै छवटै भ्रातृ संगठन विघटन गरेर पार्टी केन्द्रीय समितिले ६ महिनाभित्र महाधिवेशन गर्ने अधिकारसहित आयोजक समिति गठन गरेको थियो। नेविसंघ, तरुण दल, नेपाल महिला संघ, किसान संघ, आदिवासी जनजाति संघ, प्रजातन्त्र सेनानी संघ र मगर संघको केन्द्र्रीय समिति २०६८ असोज ३ गते विघटन गरेर चार महिनापछि माघ २२ गते महाधिवेशन आयोजक समिति गठन गरिएको थियो तर अहिलेसम्म कुनै भ्रातृ संगठनको महाधिवेशन भएको छैन ।
पार्टीको १३औं महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकले प्रमुख भ्रातृ संगठनको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय लिएपछि नेविसंघसहित तरुण दल, महिला संघले महाधिवेशनका समिति घोषणा गरेका थिए । महिला संघले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंमा चौथो महाधिवेशन गर्ने जनाएको छ भने तरुण दलले भदौकैै २४ देखि २६ गतेसम्म गर्ने घोषणा गरिसकेको छ ।

महिला संघको २०६४ पछि र तरुण दलको २०६१ कात्तिकपछि महाधिवेशन भएको छैन । नेपाल प्रजातन्त्र सेनानी संघको त २०५३ पछि नै महाधिवेशन भएको छैन । कांग्रेस सभापति देउवाले भ्रातृ संगठनहरुको निर्वाचन गराउनुलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !