१४ बैशाख २०८१, शुक्रबार

जलवायु परिवर्तनबाट हिमालय क्षेत्र बढी प्रभावित


shakti-basnet

६ मङ्सिर, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका असरबाट हिमालय क्षेत्र बढी प्रभावित भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।

वन मन्त्रालय र युरोपेली सङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित जलवायु परिवर्तनका सम्बन्धमा उच्चस्तरीय तलनिया डाईलग (खुला छलफल)को उद्घाटन सत्रमा उहाँले जलस्रोतको मुहानका साथै जडीबुटीको भण्डार र जनजिविकाको माध्यम हिमालय क्षेत्रको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । वातावरण क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ता सम्मिलित उक्त छलफलबाट निस्कने सुझाव जलवायु परिवर्तनका असरसँग जुध्न मार्गनिर्देशक हुने र मुलुकको राष्ट्रिय नीति निर्माणमा समेत उपयोगी हुने उहाँको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जलवायु परिवर्तनको असर नेपाल जस्ता मुलुकमा द्रुत गतिमा देखिन थालेकाले यसको न्यूनिकरणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असरबाट बच्न नेपालले हरियाली प्रवद्र्धन, वृक्षरोपण, कार्वन सञ्चितिकरणलगायत क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा युरोपेली सङ्घका राजदूत भिरोनिका कोडीले जलवायु परिवर्तनका असरबाट गरिब मुलुक बढी जोखिममा रहेको उल्लेख गर्दै सम्बन्धीत मुलुकसँगको छलफलबाट समाधानका लागि आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युरोपेली इन्भेस्टमेन्ट बैङ्कका उपाध्यक्ष एन्ड्रिउ म्याक्डोवेलले जलवायु परिवर्तनको असरबाट वातावरणीय समस्याका साथै वन्यजन्तुसमेत प्रभावित भएको बताउनुभयो ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) को पूर्वसन्ध्यामा सम्मेलनमा उठाउनुपर्ने विषयका सम्बन्धमा सुझाव सङ्कलनका लागि ‘तलनिया डाईलग’ गरिएको हो । छलफल कार्यक्रम मुख्य रुपमा जलवायु परिवर्तनका क्षेत्रमा ‘हामी कहाँ छौँ, कहाँ जान चाहन्छाँै, र कसरी जान्छौँ’ भन्ने विषयमा अलग अलग सत्रमा सरोकारवालाको सुझाव लिइएको थियो ।

कार्यक्रममा नेपालले हरित ग्यास उत्सर्जनमा आफ्नो न्यून योगदान भए पनि जलवायु परिवर्तनको जोखिमबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको विषयलाई सम्मेलनमा प्रमुखरुपमा उठाउनुपर्ने सुझाव आएको छ । कोप–२४ यही मङ्सिर १६ देखि २८ गतेसम्म (डिसेम्बर २ देखि १४ सम्म) पोल्याण्डको काटोविसमा हुँदैछ । नेपालले जलवायु परिवर्तनका सम्बन्धित सरकारी तथा गैरसरकारी सरोकारवालासँग विभिन्न चरणमा छलफल गरी प्रतिवेदन तयार गरेको मन्त्रालयको जलवायु परिवर्तन महाशाखा प्रमुख डा महेश्वर ढकालले जानकारी दिनुभयो । ‘तलनिया डाईलग’ का सुझाव पनि प्रतिवेदनमा समेटिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि धनी तथा विकसित राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग आर्थिक स्रोत जुटाउन पहल गर्नुपर्ने, जलवायु परिवर्तनका असरबाट जुध्न आवश्यक प्रविधि सहज र सुलभ रुपमा भित्र्याउनुपर्ने, जोखिममा रहेका स्थानीयवासीको क्षमता अभिवृद्धि, जीवनस्तरमा सुधार र समयानुकूलका कार्यक्रमका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

विज्ञहरुले जलवायु परिवर्तनका असरसँग जुध्न कृषि, वन, भू–संरक्षण, खानेपानी, सिँचाइ, फलफूल र पशुपालनलगायत क्षेत्रमा नेपालले स्थानीयस्तरमा गर्दै आएका मौलिक ज्ञानका बारेमा समेत विश्व जगतलाई सन्देश दिनुपर्नेमा सुझाव दिनुभएको थियो । जलवायु परिवर्तनका असरका कारण नेपालका हिमशिखर पग्लने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि हुने तथा परिणामस्वरुप बाढीपहिरो, मरुभूमिकरण र खडेरीजस्ता प्रभाव देखिने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !