२५ बैशाख २०८१, मंगलबार

नेविसंघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन


nebisangh

काठमाडौं, २७ साउन –नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको महाधिवेशनको बन्दसत्र बिहिबारदेखि सुरु हुँदैछ । नेविसंघको प्रवक्ता यूपी लामिछानेले आजदेखि बन्दसत्र सुरु हुन लागेको जानकारी दिए । महाधिवेशनको उद्घाटन २३ साउनमै भएको भएपनि प्रतिनिधिलगायतका विषयमा विवाद भएपछि बन्दसत्र अवरुद्ध हुँदै आएको थियो ।
विवाद मिलाउन शीर्ष नेताहरुको निरन्तरको प्रयासपछि मंगलबार राती सहमति जुटेको थियो ।

महाधिवेशन निर्देशन समितिका संयोजक डा प्रकाशशरण महतले विवादित जिल्लाका कार्यसमिति हाललाई थाती राखेर महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुङ्गो लगाएको बताए । ती जिल्लामा निर्वाचनबाट आउने नयाँ केन्द्रीय समितिले तीन महिनाभित्र अधिवेशन गराउने सहमति भएको नेता महतले जानकारी दिए ।
निर्वाचन प्रक्रिया अगाडि बढाउन पार्टीले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष भरतप्रसाद खरेलको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रवक्ता लामिछानेका अनुसार निर्वाचन समितिले आज मतदाता नामावली प्रकाशन गर्नेछ भने शुक्रबार उम्मेद्वारी दर्ता र शनिबार अर्थात साउन २९ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

नेविसङ्घको नयाँ केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधानमा सहमति भएको छ जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने समितिले जानकारी दिएको छ ।

त्यस्तै, दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ । त्यस्तै, एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

त्यस्तै १२औँ महाधिवशेनबाट लागू हुनेगरी सङ्घमा ३२ वर्षको उमेर हद लागू हुने समिति सदस्य गोविन्द भट्टराईले बताए । त्यस्तै सङ्घमा अब ‘एक व्यक्ति एक पद’को अवधारणा अनिवार्य रूपमा लागू हुनेछ । सङ्घको दुई वर्षभित्र अधिवेशन नभए तीन महिनापछि स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ ।

प्रतिनिधिको विवाद मिलेसँगै सङ्घमा प्रतिनिधिको सङ्ख्या तीन हजार ४६० पुगेको अध्यक्ष रञ्जीत कर्णले बताए ।
नेविसङ्घको महाधिवेशन झन्डै ९ वर्षपछि हुन लागेकाले हरेक पदमा आकाङ्क्षी धेरै देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !