२५ बैशाख २०८१, मंगलबार

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले लिए सपथ


prachanda

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् ।

उनले देश र जनताको नाममा सपथ ग्रहण गरे । सपथ ग्रहण कार्यक्रममा प्रचण्ड सुट र भादगाउँले टोपीमा सहभागी भए ।

प्रचण्ड सरकारमा कृष्णबहादुर महरा र विमलेन्द्र निधि उपप्रधानमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डलाई सपथ ग्रहण गराएपछि राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्रीद्वय निधि र महरालाई सपथ खुवाएकी थिइन् । निधि नेपाली कांग्रेसबाट र महरा माओवादी केन्द्रका नेता हुन् ।

कांग्रेसबाट अर्जुननरसिंह केसीले पनि बिहीबारै मन्त्रीको रुपमा सपथ ग्रहण गर्ने भनिए पनि अन्तिम समयमा उनी सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् । उनले उपप्रधानमन्त्रीमा दाबी गर्दै आएका थिए । तर, कांग्रेसले विमलेन्द्र निधिलाई उपप्रधानमन्त्रीको रुपमा सरकारमा पठाएको छ ।

यसैगरी रमेश लेखक, गौरीशंकर चौधरी र दलजित श्रीपाइलीले मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । लेखक कांग्रेसका तथा चौधरी र श्रीपाइली माओवादीका हुन् । उनीहरुलाई पनि राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराइन् ।

सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

साथै बिभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम राखिए पनि मन्त्रीहरुको टुंगो नलागेका कारण आधा घण्टा ढीलो कार्यक्रम सुरु भएको थियो ।

प्रचण्ड बुधबार संसदबाट ३६३ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनको विपक्षमा २१० मत परेको थियो ।

प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् ।

प्रचण्डले आजै सिंहदरवार गएर कार्यभार सम्हाल्ने छन् । त्यसअघि लैनचौरस्थित शहिद पार्क, चम्पादेवीस्थित पुष्पलाल पार्क र पार्टी कार्यालय पेरिसडाँडा पुग्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !