४ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिसभा- शून्य समय


meeting

१८ असार, काठमाडौँ । प्रतिनिसभाका सदस्यहरुले डा गोविन्द केसीको अनशन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को अनियमित आपूर्ति, विदेशीलाई नागरिकता प्रदानलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद तेजुलाल चौधरीले सप्तरीमा विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको चर्चा गर्दै नागरिकता दिलाउन सिफारिस गर्ने, लिने र दिने व्यक्तिलाई कारवाही गर्न माग गर्नुभयो ।

सांसद दिलेन्द्रप्रसाद बडू र पुष्पा भुसालले अघिल्लो सरकारले अघि बढाएको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै प्रस्तुत गरेर डा. गोविन्द केसीको अनशन तत्काल अन्त्य गर्ने वातावरण बनाउन सुझाव दिनुभयो ।

सांसद दिव्यराज भण्डारीले स्थानीयवासीलाई वितरण गर्ने भनिएको माथिल्लो तामाकोशीको शेयर आवेदनको समय एक महिना बढाउन माग गर्नुभयो । शेयर यही असार २४ देखि साउन ९ गतेसम्मका लागि खुल्ला गरिएकामा वर्षायाममा किसान खेतीपातीमा व्यस्त हुने भएकाले आवेदनको समयावधि बढाउनुपर्ने उहाँको सुझाव थियो ।

सांसद धु्रवकुमार शाहीले सुर्खेत जिल्लामा वर्षाैंदेखि बसोबास गर्दै आएका जनताले जग्गाको लालपूर्जा नपाएर झन्झट व्यहोर्नुपरेकाले तत्काल समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद देवप्रसाद गुरुङले पीडित जनताको भावनाअनुरुप पुनःनिर्माणको काममा राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद नमिताकुमारी चौधरीले सप्तरी जिल्ला गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को नियमित आपूर्तिको व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद निरु पालले २०३० मा प्रयोगमा ल्याइएको महेन्द्रनगरस्थित विमानस्थलको अवस्था निकै नाजुक भएकाले त्यसलाई तत्कालै सुधार गरियोस् भन्नुभयो ।

सांसद पवित्रा निरौलाले झापा र इलाम जोड्ने सडक तत्काल पुनःनिर्माण गर्न माग गर्नुभयो ।

सांसद प्रकाश रसाइलीले मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि अनुगमन गर्न संसद् मातहत शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सांसद प्रेम सुवालले सरकारले पछिल्लो समय आन्दोलन र प्रदर्शनलाई रोक्न कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरेकामा असहमति जनाउँदै प्रतिपक्षले गर्ने विरोधका कार्यक्रमले सत्तापक्ष सच्चिने र लोकतन्त्रको अभ्यासका लागि सहज वातावरण सिर्जना गर्ने भएकाले त्यससम्बन्धी निर्णय फिर्ता लिनुपर्नेमा जोड दिनुभयोे ।

सांसद पूर्णाकुमारी सुवेदी र पार्वतीकुमारी विशंखेले आमाको नामबाट सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था भए पनि कतिपय स्थानमा त्यसको अभ्यासलाई जटिल बनाइएकले सहज बनाउन निर्देशन दिन माग गर्नुभयो ।

सांसद प्रमिला राई प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा विस्फोटनमा परेर घाइते भएका नारायण कार्कीको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउँदै त्यस्ता घटनामा परेका घाइतेको निःशुल्क उपचार र क्षति भएको सवारी साधनको पूर्तिको व्यवस्था गर्न सुझाव दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !