१२ जेष्ठ २०८१, शनिबार

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन : उपसभापति निधि


vimalendra

१५ असार, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताउनुभएको छ ।

सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि आज पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा उहाँले चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको बताउनुभयो । “पार्टीभित्र झगडा गर्नुभन्दा पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुुपर्ने बेला आएको छ”, उपसभापति निधिले भन्नुभयो ।

हेटौँडामा सम्पन्न जिल्ला सभापतिको भेलाले पार्टीभित्रको कमीकमजोरीबारे सुझाव दिइसकेको बताउँदै उहाँले अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको स्पष्ट पार्नुभयो । “काँग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ नेतृत्व होइन, नीतिको बहस गरौँ” उपसभापति निधिले भन्नुभयो ।

राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणाली र शान्तिपूर्ण राजनीति काँग्रेसको एजेण्डा भएकाले यसलाई वडा तहसम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयोे ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !