१९ बैशाख २०८१, बुधबार

सातवटै प्रदेशमा सङ्गठन कमिटी गठन गर्ने:नेकपा एमाले


uml-party-office-in-dhumbari

७,असार काठमाडौं:- नेकपा (एमाले)ले सातवटै प्रदेशमा संगठन कमिटी निर्माण गर्ने भएको छ । मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले प्रदेश अन्तर्गत भूगोलमा जिम्मेवारी तोकिएका केन्द्रीय सदस्यहरू, निवर्तमान अञ्चल सचिवहरू र निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू/निर्वाचित महिला र दलित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू रहनेगरी प्रदेश कमिटी निर्माण गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटीलाई सम्बन्धित प्रदेशमा पार्टी कामको नेतृत्व गर्ने, प्रदेशमा प्रतिनिधि परिषद, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने, प्रदेश सङ्गठन कमिटी अन्तरगत विभागहरू गठन गर्ने, प्रदेश तहमा पार्टीका आयोगहरू गठन गर्ने लगायतका जिम्मेवारी तोकिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

प्रदेश सङ्गठन कमिटीले १० प्रतिशतसम्म सदस्य मनोनयनका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्न सक्ने भट्टराईले जानकारी दिए । त्यसरी सिफारिस गर्दा निवर्तमान र पूर्व जिल्ला पार्टी प्रमुखहरू, निवर्तमान अञ्चल समन्वय कमिटी सदस्यहरू, पार्टीमा लामो योगदान भएका नेताहरू तथा पार्टीसम्बद्ध जनसङ्गठनका पूर्व केन्द्रीय पदाधिकारीहरूलाई प्राथमिकता दिनु पर्ने उनको भनाइ थियो ।

त्यस्तै पार्टी एकता र एकीकरण अन्तरगत पार्टीमा आवद्ध भएका व्यक्तिहरूमध्येबाट पार्टी विधान बमोजिम प्रदेश सङ्गठन कमिटीले २० प्रतिशतसम्म मनोनयनको सिफारिस गर्ने उनले बताए ।

प्रदेश सङ्गठन कमिटीको सदस्यका रूपमा निर्णय भएका, केन्द्रीय विभागमा मनोनयन भएका र मातहत कमिटीमा रहेकाहरूलाई दोहोरो जिम्मेवारीमा नरहने गरी एक महिनाभित्र कुनै एउटा कमिटी या विभाग चयन गर्न समय दिएको पनि उनको भनाइ थियो ।

यस्तै बैठकले हालसम्म कायम अञ्चल समन्वय कमिटीहरू/राजधानी समन्वय कमिटीलाई जिम्मेवारी मुक्त गराएको छ । स्थायी कमिटीको अर्को बैठक असार ९ गते दिउँसो ३ बजे बस्ने भट्टराईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !