१२ असार २०८१, बुधबार

अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो दल दर्ताको प्रमाणपत्र


अशोक राई नेतृत्वको नयाँ पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले आज सोमबार जनता समाजवादी पार्टी (जसपा), नेपालबाट विभाजत भई बनेको जनता समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो ।

आयोगले राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई आजै दर्ता गरेको हो । जसपा नेपालबाट विभाजित भई नयाँ पार्टी दर्ताका निम्ति हिजो आइतबार दिएको निवेदनलाई आयोगले आज सोमबार पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ । राईले आधिकारिकता दाबी गर्दै हिजो निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादव नेतृत्वको जसपासँग संघीय संसदमा १२ सांसदहरुमध्ये ७ सांसद लिएर राई निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोग पुग्ने सांसदहरुमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका थिए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् । जसपा अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका छन् ।

आयोगले राई समूहले दिएको निवेदन २४ घण्टा नबित्दै दल दर्ताको निर्णय गरेको हो । नयाँ दर्ता भएको पार्टीमा राजेन्द्र श्रेष्ठ संघीय परिषद्का अध्यक्ष, अशोक राई अध्यक्ष, रेणुकुमारी यादव सहअध्यक्ष र मोहमद इस्तियाक राई महासचिव रहेका छन् ।

यो पनि पढ्नुहोस्

अशोक राई नेतृत्वको पार्टी जसपा निर्वाचन आयोगमा दर्ता

नयाँ दल दर्ताको निवेदन अवैधानिक भएकोले पार्टी विभाजन भएको छैन : जसपा

जसपा फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई पुगे निर्वाचन आयोग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !