२४ बैशाख २०८१, सोमबार

संसदको चालू अधिवेशन आजदेखि अन्त्य हुँदै


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संसदको चालू अधिवेशन आजदेखि अन्त्य हुँदै छ । सरकारले आज वैशाख २ गतेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले आज वैशाख २ गते मध्यरातिदेखि संसदको चालू अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने प्रतिनिधिसभाको बैठकमा संघीय संसद सचिवालयले ८ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक आज बिहान ८ बजे बस्ने भएको हो ।

यस्तै कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ७ः३० बजे र संसदीय दलको बैठक आजै बिहान ८ बजे बस्ने भएको हो । सरकारले संसदको चालु अधिवेशन आजै आइतबारदेखि नै अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निणय गरेकोले सोको बारेमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

काँग्रेसको संसदीय दलको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने पनि बताइएको छ ।

प्रतिनिधिसभाको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गर्दै आएका छन् ।

प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !