२४ बैशाख २०८१, सोमबार

बालुवाटारमा प्रधानमन्त्रीसँग गगन र कृष्ण सिटौलाको छलफल


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्ण सिटौलाको छलफल बालुवाटारमा जारी रहेको छ ।

कांग्रेसका महामन्त्री थापा र राष्ट्रियसभा सदस्य सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका हुन् । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला दुई नेता बालुवाटार पुगेका हुन् ।

सभापति देउवाले संसदीय दलको बैठक जारी रहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएतापनि देउवाले महामन्त्री थापा र सिटौलालाई पठाएका हुन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल जारी राखेका हुन् । सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधका बाबजुद सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि कांग्रेस आक्रोशित बनेको थियो । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए बैठक चल्न नदिने बताउँदै आएको छ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !