२२ बैशाख २०८१, शनिबार

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान सुरु


विनोद चौधरी

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सरकारको नाममा रहेको १० रोपनी जग्गा प्रकरणमा बयान दिन जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका छन् ।

सांसद चौधरीसँग सरकारी वकिल र सीआईबीका अनुसन्धान अधिकृतहरूले बयान लिन थालेका छन् । उक्त जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागि बोलाएको हो ।

हिजो मात्र चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको संसद् सचिवालयले जनाएको थियो ।

यसअघि सीआईबीले विनोदका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो भने हिजोमात्र सीआईबीले बिनोदका अर्का भाई व्यवसायी वसन्त चौधरीको बयान लिएको थियो ।

सीआईबीले बोलाइएका बसन्तलाई बयान कागज गराएर छाडेको थियो । उक्त जग्गा निजीकरण गरेको मुद्दामा बसन्तलाई घटना विवरण कागज गराइएको हो । बाँसबारीको उक्त जग्गा च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ ।

चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुणले निजीकरण गरेको सीआईबीले अनुसन्धान गरेर निष्कर्ष निकालेको छ । सरकारको स्वामित्वमा रहेको यो जग्गा निजी स्वामित्वको च्याम्पियन फुटवेयर प्रालिलाई गैरकानुनी रुपमा बिक्री गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !