२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ आज हुँदै


संसद भवन

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित १९ जना सदस्यको आज शपथ हुँदैछ । राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ आज बिहान साढे ११ बजे नयाँ वानेश्वरस्थित संघीय संसद भवनको लहोत्से हलमा हुने भएको हो ।

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा नवनिर्वाचित सदस्यहरुलाई शपथ ग्रहण गराउने भएकी छन् । आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो ।

गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको आज पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभामा रिक्त २० जनामध्ये १९ जना निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी रहेको छ ।

आज शपथ लिने नवनिर्वाचित १९ जना राष्ट्रिय सभा सदस्यहरुमा रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, भक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहरा रहेका छन् ।

शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १:१७ बजेका लागि बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !