१८ बैशाख २०८१, मंगलबार

लघुवित्त पीडितहरु संसद भवन प्रवेशपछि गृहमन्त्रीले बोलाए सुरक्षा प्रमुखको आकस्मिक बैठक


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । लघुवित्त पीडितहरु नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा प्रवेश गरेपछि गृहमन्त्री श्रेष्ठले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएका हुन् ।

गृहमन्त्री श्रेष्ठले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसंग गृह मन्त्रालयमा छलफल गरिरहेका हुन् । बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागी छन् । यसैगरी बैठकमा मन्त्रालयका शान्ति सुरक्षा सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई लगायत पनि बैठकमा छन् ।

मन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग सोमबार संसद् भवनमा भएको घटनाबारे जानकारी मागेका छन् । सुरक्षा निकायको कमजोरी कहाँ भयो भन्नेबारे उनले सोधेका छन् ।

सुरक्षा प्रमुखहरूले संसद् भवन परिसरमा लघुवित्तका ऋणीहरू प्रवेश गरेकोबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !