२३ बैशाख २०८१, आइतबार

राष्ट्रियसभाबाट मस्यौदा समितिको प्रतिवेदन स्वीकृत


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० सर्बसम्मतीले स्वीकृत गरेको छ । बैठकमा ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको सभापति सुरेश कुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको समितिका सभापति आलेमगरले जवाफ समेत दिएका थिए । उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदहरुले ७२ घण्टाभित्र आफ्नो संशोधनहरु दर्ता गर्नसक्ने ब्यहोरा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी समेत गराएका थिए ।

बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई समेत सर्वसम्मतीले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायीत्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गरेकी थिइन् ।

शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गर्दै दिवंगत बुढाथोकीको आत्माको चीर शान्तिको कामनासहित बैठकमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

नेपाली काँग्रेस पार्टीबाट विस २०६४ र २०७० को संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नं. ५ बाट संविधानसभा सदस्यता निर्वाचित सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते सोमबार राती उपचारको क्रममा असामयिक निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !