१८ बैशाख २०८१, मंगलबार

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ : गृहमन्त्री श्रेष्ठ


नारायणकाजी श्रेष्ठ फाइल फोटो

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए । उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौँ । त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ । तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन । हामीले अर्थतन्त्रको गतिलाई तीव्र पार्नै पर्छ । र विकासको फड्कोमा जानै पर्छ । एउटा कुरामा हाम्रो कमी भएको छ । यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ । युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ । यो सङ्कल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ । नयाँ ढङ्गले काम गर्नुपर्छ ।’

उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । उनले विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहेको बताए । सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको बताए. ।

उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजान सके मात्रै युवाहरूलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए । उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे । उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिस्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ । अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ ।’ उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रूपमा विकास गर्ने नीति सरकारले लिएको बताए । उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !