२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक


सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक जारी रहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक जारी रहेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका हुन् ।

सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा विधेयक पेस हुने र पारित गर्ने बताएका छन् ।

गत वर्ष नै सरकारले संसद्मा दर्ता गराएको विधेयक पास गर्न प्रधानमन्त्री दाहाललाई दबाब छ । एमालेलाई समेत मनाएर सर्व सहमतिमा विधेयक पास गर्ने दाहालको चाहना असफल जस्तै बनिसकेको छ भने अब सत्तारुढ गठबन्धनले बहुमतबाट विधेयक पास गरेर अघि बढ्ने तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !