२५ बैशाख २०८१, मंगलबार

‘कांग्रेसका गतिविधि जनतामा पुर्‍याउन ‘नेपाल पुकार’को भूमिका महत्वपूर्ण’


शेरबहादुर देउवा

पाटन, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत कांग्रेसबारे जानकारी हासिल गर्न सक्ने बताए ।

“नेपाल पुकार जनतामा लोकप्रिय हुनेछ भन्ने विश्वास छ । यो पत्रिका पढ्नेले नेपाली कांग्रेसबारे जानकारी प्राप्त गरी कांग्रेसबारेमा आफ्नो धारणा बनाउने छन् । यसले पार्टीका गतिविधिहरु जनतासमक्ष पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, सभापति देउवाले भने ।

त्यस अवसरमा पार्टी उपसभापति तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अहिले नेपालमा सुशासनको राजनीतिको खडेरी परेको अवस्थामा नेपाल पुकारको नयाँ अङ्क सुशासन विशेषाङ्कका रुपमा आउनुपर्ने धारणा राखे ।

“अहिले सुशासनको राजनीतिको खडेरी परेको अवस्था छ । यो अवस्था सुशासनका बिषयमा केन्द्रित रहेर अर्को अङ्क आउनुपर्छ । चुनावमा जिताइ देउ भन्ने मात्रै हाम्रो मिसन होइन, सुशासन पनि हाम्रो मिसन हो । यसका लागि हामीले संस्कार र राजनीति प्रवृत्तिमा बदल्न आवश्यक छ”, उनले भने । उनले गरिबी, रोग, भोक र अशिक्षा हाम्रो प्रमुख शत्रु हो भन्ने आधारमा अगाडि बढ्नुपर्छ भन्दै नेपाली राजनीतिलाई सुदृढीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कांग्रेस महामन्त्री गगन थापाले कुशासनले नागरिक आजित भएको भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“नेपाली कांग्रेस समुन्नतिबारे जनतामा जानकारी प्रवाह गर्न चाहन्छ । नेपाली कांग्रेसले गरेका हरेक काम जनतामा पुर्याउन पत्रिकाले महत्वपूर्ण काम गर्ने छ भन्ने विश्वास छ”, उनले भने, “हामीले यो पत्रिका पार्टीको स्रोतबाट विज्ञापन नराखेरै चलाउन चाहेका छौँ । यसले सार्थकता पाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।”

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको वैचारिक सन्देश प्रवाह गर्न यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास राखे । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रचार-प्रसार विभागका पूर्वप्रमुख मीनेन्द्र रिजाल, नगरपालिका महासङ्घका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले सो अवसरमा धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !