४ जेष्ठ २०८१, शुक्रबार

भूकम्पमा घाइते भएका सबैको उपचार सरकारले निःशुल्क गर्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले भूकम्पमा परेर घाइते भएकाहरु सवैको उपचार निःशुल्क गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले पत्रकारलाई जानकारी दिए ।

उनका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ । काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको बताउँदै अब ‘रेस्क्यु’ गर्नुपर्ने अवस्थाका बिरामी बाँकी नभएको बताए ।

उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !