२५ बैशाख २०८१, मंगलबार

कोशीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत


केदार कार्की फाइल फोटो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत पाएका छन् । आज बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा आज भएको मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी भएका थिए । कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र परेको छ । कार्कीले दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो ।

मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गरे ।

विश्वासको मतको प्रस्ताव पेश गर्दा छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको अवस्थामा आएको बताए । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको विकल्प नै उत्तम भएको बताउँदै उहाँले सहमति, सहकार्य र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पारे।

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादी केन्द्र संसदीय दलका तर्फबाट दुर्गा चापागाईंले राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वासको मत दिने बताएका थिए ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी विश्वासको मतको विपक्षमा रहने बताए । उनले सरकारको राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने प्रतिक्रिया दिए ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले सुशासन र समृद्धिलाई सँगसँगै लैजान विश्वासको मतको कदर गर्ने बताए । उनले प्रदेशलाई विकासमा नमुना बनाउन विश्वासको मतलाई विश्वासघात नगर्ने विश्वास दिलाए ।

अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगन भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !