१० जेष्ठ २०८१, बिहिबार

महराका छोरा राहुललाई थुनामा पठाउन अदालतको आदेश


राहुल महरा

काठमाडौँ । विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करी प्रकरणको अभियोगमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले भेपको सुन प्रकरणमा राहुललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आज शुक्रबार दिएको हो ।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश उनले जानकारी दिए ।

सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख धरौटी माग गरिएमा धरौटी बुझाएपछि उनी रिहा हुनेछन् ।

९ केजी सुन तस्करी अभियोगमा यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउदै पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालयले राय दिएको थियो ।

पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्रविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको थियो ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको थियो । २०७९ पुस १० गते दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ ग्राम सुन भेटिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !