२४ बैशाख २०८१, सोमबार

इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने


मन्त्रिपरिषद् निर्णय

काठमाडौँ । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले इजरायलबाट ‘कर्मसियल फ्लाइट’मा नेपाल फर्कन चाहने नेपालीलाई टिकट खरिदमा सहजीकरण गर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले बताए । इजरायल र गाजाबीचको युद्धका कारण १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

यस्तै सो युद्धमा ४ जना घाइते भएका थिए । एकजना सम्पर्कविहिन छन् । वेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै चार जना घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।

सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारले आज २५० सीट क्षमताको नेपाल एयरलाइन्सको जहाज दुबई हुँदै इजरायल पठाउँदै छ । हाल इजरायलमा रहेका २८८ नेपालीले स्वदेश फर्कन चाहेका छन् ।

उनीहरूमध्ये २५० जनालाई आज राति पठाइने जहाजले नेपाल ल्याउने छ । फ्लाई दुबई, इत्तेहाद, टर्किस एयरलाइन्सले इजरायलमा कर्मसियल उडान गरिरहेका जनाउँदै स्वदेश फर्कन चाहने नेपालीहरू त्यस्ता उडानमा आउन सक्ने जनाइएको छ ।

इजरायलमा रहेका विद्यार्थीले सरकारले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन ढिलाइ गरेको भन्दै आक्रोशित भएपछि सरकारले उनीहरूलाई लिन आज राति जहाज पठाउन लागेको हो । चाटर्ड फ्लाइट एउटा मात्र गर्ने भएकोले बाँकी रहेकालाई कमर्सियल फ्लाइटमा ल्याउने निर्णय सरकारले गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !