२० बैशाख २०८१, बिहिबार

सिके राउतको पार्टी जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश


शिवचन्द्र कुशवाह

काठमाडौं । डा. सिके राउतको पार्टी जनमतले कारबाही गरेका पूर्वमन्त्री एवं बाराका नेता शिवचन्द्र कुशवाह प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बनेका थिए ।

कुशवाह आज बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरे ।

कुशवाह २०६४ सालमा बारा २ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएका थिए । कुशावाह उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए ।

निर्वाचनपछि केही समय जनमत पार्टीमा रहे पनि सीके राउतसँग सहमत हुन नसकी छाडेका थिए । उनीसंगै ५४ जना मधेसका नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !