२० बैशाख २०८१, बिहिबार

सुवास नेम्वाङको राजकीय सम्मानसहित आज अन्त्येष्टि गरिंदै


सुवास नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । मंगलबार बिहान निधन भएका नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न लागिएको हो ।

दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई हिजो दिउँसो बालुवाटारस्थित निवासमा लगिएको थियो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलबार बिहान हृदयघातका कारणले निधन भएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरिर मंगलबार दिउँसोदेखि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तयारी गरिएको छ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

हृदयघातबाट निधन भएका एमाले संसदीय दलका उपनेता नेम्वाङको अन्तिम संस्कार आज हुने भएकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !