४ जेष्ठ २०८१, शुक्रबार

मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार यादव पुर्पक्षका लागि थुनामा


अनिरुद्धकुमार यादव

सप्तरी । हत्या अभियोगमा पक्राउ परेका सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

यादवलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको प्रहरीले बताएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले हिजो राजविराजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको थियो ।

विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविकको बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ ।

सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्याई पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप छ । उक्त विषयमा जाहेरी परेपछि अदालतमा वयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेका थिएन ।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंह नौ जनामाथि किटानी उजुरी हालेका थिए । गोविन्द चौधरीको हत्याको आरोमा पक्राउ परेका सिंहलाई जिल्ला आदालत सप्तरीबाट यसअघि म्याद थप गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !