२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको दुई प्रतिवेदन पेश


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ र ‘विधायन व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेकी थिइन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मलेमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा(२) बमोजिम सदन समक्ष पेश गरेका थिए ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत साउन ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ईटाली प्रस्थान गर्दा प्रधानमन्त्रीको अनुपस्थितिमा उनको सम्हाल्दै आएको कामकाज उपप्रधान एवं रक्षामन्त्रीले गर्ने गरी तोकिएको, मन्त्रिपरिषद्मा हेरफेर गरिएको तथा मुलुकी संहिता सम्बन्धि विधेयक प्रमाणिकरण गरी पठाइएको बिषयको राष्ट्रपति कार्यालयबाट बिगतमा प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विभिन्न मितिमा सरकारका मन्त्रीहरु विदेश भ्रमणमा जाँदा उनीहरुकाले गर्ने कामकाजको जिम्मेवारी अन्य मन्त्रीहरुलाई तोकिएको सम्बन्धि सदन अबरुद्ध हुँदा प्राप्त विभिन्न पत्रको व्यहोरा पढेर सभालाई जानकारी गराएका थिए ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले दलीय आधारमा बिशेष समयमा बोल्दै समसामयिक र जनसरोकारका बिषयमा सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही भाद्र १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !