२० बैशाख २०८१, बिहिबार

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्चमा


सर्वोच्च अदालत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा (एमाले) ले आज सर्वोच्च अदालत रिट लिएर सर्वोच्च अदालत पुगेको छ ।

कोशीका मुख्यमन्त्री थापाले संविधान मिचेर जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री थापाले भदौं ४ गते सोमबार विश्वासको मत पाएका थिए । विश्वासको मत लिने मुख्यमन्त्री थापाको प्रस्ताव प्रदेशसभाले स्वीकृत गरेको थियो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा आजको बैठकमा ७७ जना प्रदेशसभा सदस्य उपस्थित रहेका थिए । कोशीका प्रदेशसभामा मुख्यमन्त्री थापाले राखेको विश्वासको मतको पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत परेको थियो । प्रदेशसभाको बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

कोसीका मुख्यमन्त्री थापाले प्रदेशसभाको बैठकको अध्यक्षता गरेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद मन्सुरीसमेतको मत जोडेर विश्वासको मत पाएका थिए । मत सच्याउने अवधिको घण्टी बजिसकेपछि इसराइलले सभाध्यक्ष मण्डलका अर्की सदस्य गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न आग्रह गरेका थिए ।

अध्यक्ष मण्डलका अर्का सदस्य तिम्सिनालाई बैठकको अध्यक्षता गर्न लगाएर मन्सुरी आफू मतदानका लागि गएर मुख्यमन्त्री थापालाई मत दिएका थिए । आफैंले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई दिएकी थिइन् । कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !