२० बैशाख २०८१, बिहिबार

चार दलले सातै प्रदेशमा समाजवादी मोर्चा गठन गर्ने


समाजवादी मोर्चा

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको हो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने र त्यस क्रममा प्रदेशस्तरीय मोर्चा पनि गठन गर्ने निर्णय गरेको बताए ।

समाजवादी मोर्चाले सातै प्रदेशमा ‘सन्देश सभा’ गर्ने भएको छ । मोर्चाले भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा आयोजना गरिने निर्णय भएको हो ।

यस्तै भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गरिने उनले बताए ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !