१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीले बोलाएको दलका शीर्ष नेतासँग छलफल सुरु, ओली अनुपस्थित


प्रधानमन्त्री प्रचण्डसंग पार्टीका नेताहरु

काठमाडौँ । सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले बोलाएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका छन् । बैठकमा अध्यक्ष ओली सहभागी नभएपनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका छन् ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति समेत रहेका पूर्णबहादुर खड्का सहभागी छन् भने माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार, राप्रपाका राजेन्द्र लिङदेन तथा जनतमतकी अनितादेवी रहेका छन् ।

बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध हुँदै आएको छ । सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्च्स्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !