२६ बैशाख २०८१, बुधबार

हिजो स्थगित गरिएको गण्डकी प्रदेशसभाको बैठक आज बस्दै


गण्डकी प्रदेशसभा

गण्डकी । हिजो स्थगित गरिएको गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

हिजो दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक ‘बिजनेस’ नभएपछि आजको लागि सारिएको थियो । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दल नेकपा (एमाले) ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । हिजोको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब आज बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईटा प्रस्ताव पनि दर्ता गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !