२२ बैशाख २०८१, शनिबार

यति नालायक र अयोग्य सरकारका प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार यति नालायक र अयोग्य भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै राजीनामा दिनुपर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज दिउँसो विशेष पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष ओलीले एकपछि अर्को काण्ड दोहोरिइरहँदा प्रधानमन्त्री प्रचण्डले नै राजीनामा दिनुपर्ने तर्क गरेका हुन् ।

उनले सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजेको आरोप पनि लगाएका छन् । उनले प्रधानमन्त्री प्रचण्डले यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहेकोले आफैंले राजीनामा दिनुपर्ने जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी समेत गरे । उनले बानी परेपछि घिन र लाज नलाग्ने भन्दै नैतिकता भन्ने अलिकति पनि नभएको बताए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन् ? भनेर प्रश्न समेत गरे । उनले गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने भनेर टिप्पणी समेत गरे ।

ओलीले सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नतामा भएको बताउदै गृहमन्त्री श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएका हुन् । ओलीले गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा सुन तस्करी सरकारकै संलग्नतामा भएकोले गृहमन्त्री श्रेष्ठले पदमा बसिरहने आधार गुमाएको आरोप लगाएका हुन् ।

ओलीले गृहमन्त्री श्रेष्ठले बाहिर बाहिर ठूला कुरा गरेर भित्र तस्करहरुसँग साँठगाँठ गरेको आरोप लगाए । आफूहरुले उच्चस्तरीय समिति बनाएर जाऊँ भन्दा २/४ जना स्वार्थी तत्वका पछाडि समूहबन्दी बनाएर सरकार कुदिरहेको बताए ।

अध्यक्ष ओलीले क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार डराएको आरोप लगाए । उनले सुन तस्करी प्रकरणमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको कुरो उठ्ने वित्तिकै सरकार ढोका बन्द गरेको बसेको आरोप लगाए ।

उनले एकपछि अर्को आउने प्रकरणले देश गम्भीर अवस्थामा पुगेको बताए । उनले पछिल्लो समय भन्सारबाट सुनबाहेक अन्य सामान नभित्रिएको दावी गरे । अध्यक्ष ओलीले देश सिध्याउने खेल भइरहेकाले देशको पक्षमा हरेक सचेत नेपाली उभिने र बोल्नुपर्ने अवस्था आएको बताए ।

यो पनि पढ्नुहोस्

सुन तस्करी सरकारकै संलग्नतामा भएकोले गृहमन्त्रीले पदमा बसिरहने आधार गुमाउनुभयो : अध्यक्ष ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !