२० बैशाख २०८१, बिहिबार

नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीसहित नेताहरु पुगे उच्च अदालत


बालकृष्ण खाँण र टोपबहादुर रायमाझी

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनीहरुले उच्च अदालत पाटन पुगेका हुन् ।

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै उनीहरु उच्च अदालत पुगेका हुन् । मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

उनीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दिएका हुन् । उनीहरुको रिट निवेदनमाथि अब एक सातापछि पेसी तोकिने बताइएको छ ।

यो प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएका थिए । उक्त प्रकरण जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !