२४ बैशाख २०८१, सोमबार

पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा


पुष्पलाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई नेपालका कम्युनिष्ट आन्दोलनको अगुवाको रुपमा लिइन्छ । माक्र्स र एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक नेपाली भाषामा अनुवाद गरी पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण पुष्पलालले गरेका थिए ।

पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सरेका थियोए कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भयो । भारतको पश्चिम बङ्गालको कोलकातामा नेकपाको घोषणा भएको थियो । पुष्पलाल नेकपाको संस्थापक महासचिव थिए ।

नेकपाको संस्थापकमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालको ४५औं स्मृति दिवस देशभर मनाइँदै छ ।

नेकपा (एमाले) का नेता मुकुन्द न्यौपानका अनुसार पुष्पलालले कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गर्ने काम गरेका हुन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत कम्युनिष्ट पार्टीले पुष्पलालको योगदानलाई कम आँकलन गर्न नहुने उनको भनाइ छ । नेता न्यौपानेले पुष्पलालले २०२७ सालअघि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताए ।

“पुष्पलालले २०२७ सालमा नेपालमा प्रजातन्त्र पुनःवहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भनेका थिए । हामी उग्रपन्थी थियौं । कांग्रेससँग मिल्ने ? भनेर पुष्पलाललाई दक्षिणपन्थी भनेर आलोचना गर्यौं”, नेता न्यौपानेले भने– “पछि हामीले २०४३ सालमा पञ्चायतलाई उपयोग गर्ने निर्णय गर्यो ।”

नेपालका प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा ल्याउने सकिँदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिँदैन भन्ने पुष्पलालले अगाडि सारेको विचारलाई आत्मसात गर्दै २०४६ सालमा कांग्रेससँग मोर्चा बनाउने निर्णयमा पुगेको नेता न्यौपाने बताउछन् । पुष्पलालले भनेजस्तै कांग्रेससँग मोर्चा बनाएर २०४६ सालमा प्रजातन्त्रको पुनःबहाली गरेको उनको भनाइ छ । पुष्पलालले गठन गरेको नेकपा अहिले छिन्नभिन्न भएको छ । तर पनि नेपालका कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् ।

माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलाल कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुआत गर्ने नेताको रुपमा रहनुभएको बताए । पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागर गरेकाले उनले सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको नेता कार्कीले बताए ।

“पुष्पलालको पालामा पनि पार्टी विभिन्न चिरामा थिए । उहाँले पनि एउटा घरको प्रतिनिधित्व गर्नुभएको थियोे,” उनले भने । आज ४५औँ पुष्पलाल स्मृति दिवस एमाले, एकीकृत समाजवादीलगायत पार्टीले विविध कार्यक्रम गरी मनाएका छन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै उनकै नाममा पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !