२४ बैशाख २०८१, सोमबार

आरजुको टिप्पणी : महामन्त्रीहरुको प्रतिवेदन एनजीओ-आइएनजीओ जस्तो


डा. आरजु राणा देउवा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनलाई एनजीओ-आइएनजीओको कार्यपत्र जस्तो भएको टिप्पणी गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज शुक्रबार आफ्नो धारणा राख्दै राणाले महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कुनै एनजीओ-आइएनजीओको प्रतिपद्धता पत्र वा कार्यपत्र जस्तै रहेको टिपणी गरेकी हुन् ।

उनले महामन्त्रीको प्रतिवेदनमा दुरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना नदेखेको बताइन् । नेपाली कांग्रेस एजेण्डा सेट गर्ने पार्टी भएको भन्दै त्यस अनुरुपको प्रतिवेदन भने महामन्त्रीबाट नआएको उनको भनाइ थियो ।

उनले कांग्रेस राजनीतिमा मात्र केन्द्रित हुँदा सरकार सञ्चालनमा भने चुक्ने गरेको बताइन् । उनले देशका सरकारहरूको अवस्था र कांग्रेसको घोषणापत्रको तुलना गरेर त्यसको सामन्जस्यता केन्द्रीय समितिबाट खोजिनुपर्ने बताइन् ।

उनले पढ्नका लागि विदेशीने बढे भनेर कोकोहोलो गरेपछि किन गए भनेर अध्ययन भने हुने नगरेको बताइन् । उनले निर्वाचन प्रणालीका विषयमा कांग्रेसभित्र प्रश्न उठाइएन पनि समाधानका लागि छलफल भने हुन नसकेको बताइन् ।

उनले पार्टीका नेताहरु मन्त्री तँछाडमछाड गर्ने तर मन्त्रालयको काम कसरी हुन्छ भन्ने नबुझ्ने रहेको पनि बताइन् । उनले आफ्नो पार्टीलाई खुला रुपमा आलोचना गर्ने काम छोड्नुपर्ने बताउँदै डराएर बस्नेहरु मैदान छोडेर जाँदा हुने भनेर चेतावनी समेत दिएकी छन् ।

आरजुले समानुपातिकाबाट आएका महिलाहरुले ओगटे भन्ने आरोपको प्रतिवाद गर्दै प्रत्यक्षको टिकट दिएर देखाउन पनि चुनौती दिइन्। प्रत्यक्षको टिकट दिन कन्जुस्याइँ नगरेर आफूहरु चुनाव लड्न तयार रहेको उनको भनाइ थियो।

राजनीति सधैँ चुनौतीबाटै अघि बढ्ने बताएकी छन् । कांग्रेस चुनौतीमा रहेको भनेर चिन्ता गर्नेहरूलाई जवाफ दिँदै उनले द्वापर युगदेखि राजनीतिमा चुनौती नै रहेको भन्दै कलियुगमा राजनीति थप चुनौतीपूर्ण रहेको बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !