२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय समिति बैठक : आज पनि नेताहरूको धारणा राख्नेक्रम जारी


नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबारबाट सुरु भएको बैठक आज बिहान ११ बजे पनि बस्न लागेको हो ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ । हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको र धारणा राख्नेक्रम आज पनि जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी बैठकमा आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेस प्रदेश), इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजङ्ग शाही (कर्णाली प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार प्रारम्भ बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी र अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसैगरी नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यसैगरी प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा प्रमुख सचेतक रमेश लेखकले र सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै आफ्ना धारणा व्यक्त गरेका थिए ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि छलफल भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !