२२ बैशाख २०८१, शनिबार

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयलाई नै प्रश्न उठाउने संस्थापन पक्षको तयारी


गगन र विश्वप्रकाशको माग

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ ।

कांग्रेस महानमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भएपनि पार्टी सभापति शेरबहादुर देउवाले बैठक नबोलाएको भनेर देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

तर आजको बैठकमा संस्थापन देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्न उठाउने तयारी गरेपछि बैठकमा प्रतिकूल वातावरण त सिर्जना हुने होइन भनेर आशंका गरिएको छ । महामन्त्रीद्वय थापा र शर्मालाई गलाउने रणनीतिमा संस्थापन पक्षले तयारी गरेको हो ।

देउवानिकट केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूले महामन्त्रीद्वयकै कारण पार्टी विधानसम्मत सञ्चालन हुन नसकेको निष्कर्ष निकालेका छन् । सभापतिलाई विधान कार्यान्वयनमा जिम्मेवार बनाउन छाडेर दुवै महामन्त्री लोकप्रियतामा लागेको देउवा निकट केन्द्रीय सदस्यको आरोप लगाएका छन् ।

हिजो बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए । पार्टीलाई विधानसम्मत चलाउन नसकेको, संगठनलाई सुस्त बनाएको आरोप खेपिरहेका देउवाले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्ने गरेको प्रस्तावलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !