२२ बैशाख २०८१, शनिबार

सीताको मृत्युपछि माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक


माओवादीको पदाधिकारी बैठक फाइल फोटो

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरु आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष दाहाल पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।

सिता दाहालले मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याएकी थिइन् । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन बिताउनुभएकी दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरुपमा सहभागी भएकी थिइन् ।

पार्टी सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र अपराह्न २ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !