२७ बैशाख २०८१, बिहिबार

सीता दाहालको मृत्युपछि समाजवादी मोर्चाको बैठक पनि स्थगित


समाजवादी मोर्चा

काठमाडौँ । समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि समाजवादी मोर्चाको बैठक स्थगित गरिएको हो ।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने भएको थियो ।

बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो । आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको थियो ।

आजकै बैठकमा माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मासहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि छलफल हुने बताइएको थियो ।

यही असार २३ गते बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । आगामी साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी गरिएको थियो ।

मोर्चाले यसअघि मोर्चाको कार्यदिशा तय गर्न कार्यदलसमेत गठन गरेको थियो । यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरिएको थियो । मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !