२५ बैशाख २०८१, मंगलबार

क्यान्सर रोगविरुद्ध सरकारले ठोस योजना ल्याउँछ : मुख्यमन्त्री राउत


लालबाबु राउत लालबाबु राउत

१७ जेठ, लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ ।”

मुख्यमन्त्री राउतले क्यान्सर रोग नियन्त्रणका लागि नेपाल अर्बुद रोग निवारण संस्थालगायत संस्थाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै धूमपानको लत लाग्नुको पछाडि अभिभावकको भूमिका पनि निर्णायक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म सानो छँदा हजुरबुबाले बिँडी सल्काएर ल्याइदिन अह्राउनुभएको थियो, बिँडी सल्काउने क्रममा म पनि दुई तीन सर्को तान्न थालेको थिएँ, हजुरबुबाले बिँडी नपिएको भए सायद त्यस्तो गर्ने थिइनँ होला, क्यान्सरको जरो नै धूमपान रहेकाले अहिलेदेखि नै यसलाई परित्याग गर्न सबैमा आग्रह गर्दछु ।”

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव जीवन होडाले प्रदेश नं २ मा सार्वजनिक– निजी साझेदारीमा क्यान्सर अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिदैं त्यसका लागि संस्थाले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संस्थाका जिल्ला अध्यक्ष अशोक अमात्यले २०७० साल फागुन १० गतेदेखि लहानमा क्यान्सर केयर सेन्टर स्थापना गरी भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकलाईसमेत झिकाएर क्लिनिक सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

लहानमा क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको कार्यालयले २५ बिगाह जग्गासमेत उपलब्ध गराउने आश्वासन आफूले पाएको बताउँदै उहाँले यसप्रकारका अस्पताल निर्माण भए प्रदेश नं २ का क्यान्सर रोगीलाई ठूलो राहत पुग्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य रामकुमार यादव र सुनिता राम, सप्तरी डाकनेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायतले क्यान्सरबाट जोगिन धूमपान त्याग्नुपर्ने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !