२२ बैशाख २०८१, शनिबार

शुक्रबार स्थगित भएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै


संसद भवन

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । गत शुक्रबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधपछि स्थगित भएका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएका हुन् ।

नयाँवानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गरेपछि विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । एमालेले प्रचण्डले दिएको उक्त अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने सम्भावित पहिलो सम्भावित कार्यसूची रहेको छ ।

यस्तै ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि पेस हुने र उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल, संशोधनलाई निर्णयार्थ प्रस्तुत तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अन्य सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै आजै राष्ट्रियसभाको बैठक बिहान ११ः३१ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायतका मन्त्रालयका विभिन्न शिर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !