२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीको स्पष्टीकरण होइन, राजीनामा चाहियो : केपी ओली


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्पष्टीकरण नभएर राजीनामा चाहिएको बताएका छन् ।

आज दिउँसो अवरोध गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए ।

‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो।’

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोधलाई अन्य विपक्षी दलहरु रास्वपा र राप्रापाका सांसदहरु पनि साथ दिएका थिए । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने चेतावनी समेत दिएको छ ।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर शुक्रबारसम्मका लागि स्थगित भएको छ । आज आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पर्सि शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !