२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक *शुक्रबारसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक *शुक्रबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पर्सि शुक्रबार दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विषयलाई राजीनामा माग गरेपछि सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै राजीनामा मागेका थिए ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोधलाई अन्य विपक्षी दलहरु रास्वपा र राप्रापाका सांसदहरु पनि साथ दिएका थिए । एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने चेतावनी समेत दिएको छ ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो । उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ । तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार अपराह्न १ः०१ बस्ने गरी निर्धारण गरेको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक *शुक्रबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक पनि *शुक्रबारसम्मका लागि स्थगित हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !